Wide Nepal News मङ्गलबार २१, साउन २०८२ ०४:०६

चीनसँग सीमानाका जोडिएको टिङ्करमा अध्यागमन कार्यालय स्थापना हुन सकेन

सम्बाददाता सम्बाददाता
सोमबार, साउन २०, २०८२
चीनसँग सीमानाका जोडिएको टिङ्करमा अध्यागमन कार्यालय स्थापना हुन सकेन

दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने टिङ्करमा नेपाल सरकारको अध्यागमन कार्यालय स्थापना हुन सकेको छैन।

नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ कात्तिक ८ गतेको बैठकले यहाँको भारत र चीनसँग जोडिएको सीमानाका टिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। मन्त्रीपरिषद्को बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर खारेज गर्ने निर्णय गरेको थियो।

साथै बैठकले अध्यागमन कार्यालय कोरला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्कर दार्चुला र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो। आधिकारिक निर्णय भएको नौ महिना बितिसक्दासमेत टिङ्करमा कार्यालय स्थापना नहुनु दुःखद भएको दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताए।

“चीनसँगको नाकामा अध्यागमन कार्यालय स्थापना गरिनु हामी जिल्लावासी र व्यापारीका लागि खुसीको कुरा हो, सरकारले यथाशघ्रि निर्णय कार्यान्वयन गर्नु पर्छ,” उनले भने। “कार्यालय स्थापना गर्न दबाब दिन निकट भविष्यमै सरोकारवाला संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा जान्छौँ,” उनले थपे। मन्त्रीपरिषद्ले निर्णय गरेपश्चात् यहाँको जिल्ला प्रशासन कार्यालयनजिकै रहेको भवनको एउटा सानो कोठामा अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्करको बोर्ड बनाएर कार्यालय राखिएको छ। अध्यागमन कार्यालयमा अहिले नायब सुब्बा गोपालसिंह बोहरालाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण कार्यालय स्थापना गर्न नसकिएको बताए। जनशक्ति अभाव र भौतिक पूर्वाधार अभावबारा नेपाल सरकार गृह मन्त्रालयलाई लेखेर पठाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सरकारले अध्यामगन कार्यालयलाई बहुआयामिक बनाएर स्थापना गर्न सके यहाँको सबै समस्या हल हुने उनले बताए।

सीमा प्रशासन, भन्सार र अध्यागमन कार्यालयलाई एकै ठाउँबाट सञ्चालन गर्ने गरेर स्थापना गर्न सके मात्रै बहुआयामिक हुने उनको भनाइ छ। दार्चुलाको टिङ्कर नाका कैलाश मानसरोवर जानका लागि सबैभन्दा छोटो नाका हो ।

प्रतिक्रिया